भारतीय विधानसभा निर्वाचनमा हारेपछि के भने प्रधानमन्त्री मोदीले ?

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

नयाँ दिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीलाई भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ ।

राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार ब्यहोरेको छ । पाँच मध्ये तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ ।

मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ । मध्यप्रदेशमा पाँच वर्षअघि भएको निर्वाचनमा २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक १ सय ९ सिटमा खुम्चिएको छ ।

त्यसैगरी छत्तीसगढमा १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भाजपा यस पटक पराजित भएको छ । राजस्थानमा २०० सिटमा भएका चुनावमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सिमित भएको छ ।

दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ । राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ऐतिहासिक जित हात पारेको कांग्रेसले मिजोरममा भने हार ब्यहोरेको छ । ४० सिटको मिजोरम विधानसभामा कांग्रेस ५ सिटमा सिमित भएको छ । त्यहाँ मिजोरम नेसनल फ्रन्टले २६ सिटसहित बहुमत हासिल गरेको छ ।

मे २०१४ मा सत्तामा आएका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पछिल्लो मतपरिणामले ठूलो झट्का दिएको छ । भारतीय जनता पार्टीको हारका पछाडि केन्द्रीय सरकारले पछिल्लो साढे चार वर्षमा लिएका नीति र प्रदेश सरकार सञ्चालनमा रहेका कमीकमजोरी प्रमुख रुपमा जिम्मेवार ठानिएको छ ।

यसैबीच प्रधानमन्त्री मोदीले कांग्रेसलाई जितको लागि बधाई दिएका छन् । मोदीले तेलंगानामा केसिआर र मिजोरममा एमएमएफलाई पनि जितका लागि बधाई दिएका छन् ।

गएराति १० बजे प्रधानमन्त्री मोदीले ट्वीट गर्दै विधानसभा चुनावमा बीजेपीका कार्यकर्ताले दिनरात मेहनत गरेको भन्दै आफूले उनीहरुको मेहनतको सम्मान गर्ने बताएका छन् । उनले हारजित भनेको त जिन्दगीको हिस्सा हो । भनी लेखेका छन् ।

भारतीय विधानसभा चुनाव: तीन राज्यमा मोदीको पार्टीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट