भारतीय विधानसभा चुनाव: तीन राज्यमा मोदीको पार्टीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

प्रकाशित मिति: २५ मंसिर २०७५, मंगलवार

नयाँ दिल्ली । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कांग्रेस अघि देखिएको छ ।

यी राज्यमा कांग्रेस अघि परेसँगै भारतीय जता पार्टी (भाजपा)लाई ठूलो झड्का लाग्ने देखिएको छ । राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारमा रहेको पार्टी भाजपालाई पछि पार्दै राहुल गान्धीको कांग्रेस सत्तामा जाने देखिएको छ ।

यस्तै तेलंगानामा टिआरएसले अग्रता लिएको छ भने कांग्रेसले कडा टक्कर दिइरहेको छ । मिजोरममा एमएनएफ अघि रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ । तेलंगना राज्यमा सत्ताधारी टीआरएस अझै बलियो देखिएको छ ।

सुरुवाती गणना अनुसार टीआरएरस ७९ सीटमा अगाडि छ र कांग्रेस २९ सीटमा छ । दुईमा बीजेपी, तीनमा टीडीपी तथा सातमा अन्य रहेका छन् । राजस्थानमा कांग्रेस ११५ सीटमा अगाडि रहेको छ भने बीजेपी ८० सीटमा अग्रता बनाउन सकिरहेको छ ।

यस्तै मध्य प्रदेशमा पनि कांग्रेको अग्रता कायम रहेको छ । कांग्रेसले ११६ सीटमा अग्रता बनाउँदा बीजेपीले १०२ सीटमा अग्रता बनाएको छ । मध्य प्रदेशमा पछिल्लो १५ वर्षपछि कांग्रेसले मत गणनामा सुरुवाती अग्रता बनाउँदै अगाडि बढेको हो ।

पाँच राज्य मध्ये तीनवटा राज्यमा बीजेपीको सरकार छ । केही महिनापछि आम चुनाव हुने भएकाले मध्य प्रदेश, राजस्थान तथा छत्तीसगढको चुनावी नतिजाको असर केन्द्रको राजनीतिमा पनि पर्ने छ । मध्य प्रदेशमा बीजेपी पछिल्लो १५ वर्षदेखि सत्तामा रहेको छ जबकि राजस्थानमा पछिल्लो २० वर्षमा हरेक वर्षमा सरकार परिवर्तन भइरहेको छ ।

कांग्रेसले भने यी पाँच राज्यमा निकै आशा गरेको छ । एग्जिट पोलहरुका अनुसार पाँच राज्यको चुनावमा कांग्रेसको अवस्था मजबुत भएको देखाएको छ ।

चुनावी नतिजाको सुरुवाती रुझानामा आफ्नो पार्टी पछाडि परेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको बैठक बोलाएका छन् । सुरुवाती रुझानमा बीजेपी निर्वाचन भएका पाँच राज्यमा नै पछि परेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट