शान्ति, सद्भाव र एकताका लागि नेपालगन्ज म्याराथनले भूमिका खेल्छ: पर्यटनमन्त्री

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

काठमाडौं । शनिबार नेपालगन्ज म्याराथनको पाँचौं संस्करणको उद्घाटन गरिएको छ । म्याराथनको उद्घाटन गर्न नेपालगन्ज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई राष्ट्रव्यापी बनाउँदै प्राप्त उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको बताएका छन् ।

नेपालगन्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगन्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दाबी गरे। स्वास्थ्यका लागि खेलकुदको आवश्यकतामा जोड दिँदै उनले शान्ति, सद्भाव र एकताका लागि नेपालगन्ज म्याराथनले भूमिका खेलेको चर्चा गरे ।

सरकारको नारालाई देशविदेश पुर्‍याउन नेपालगन्ज म्याराथनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए।

नेपालगन्जको बीपीचोकबाट सुरु भई कोहलपुर चौराहदेखि उत्तर पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा आएर पूरा हुने म्याराथन मा प्रथम हुनेलाई ६५ हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारका साथै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ।

नेपालगन्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७ सय जनाभन्दा बढी सहभागी छन्। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा।धवल शमशेर राणा लगायतले नेपालगन्ज म्याराथनले नेपालगन्जलाई चिनाउन सहयोग गरेको धारणा राखेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट