रिपोर्टर नेपाल समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतलाई कालापानी, लिपुलेक र लिम्पियाधुराबाट फौज फिर्ता लैजान आग्रह गरेका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।
प्रधानमन्त्रीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने ठोकुवा समेत गरेका छन्। प्रधानमन्त्री ओलीले भारतसँग कुनै पनि हालतमा तनाव गर्ने पक्षमा सरकार नरहेको बताउँदै संवादबाटै सीमा विवाद समाधान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए। ओलीले विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको पक्षमा रहेको र छिमेकीसँग तनाव नहोस् भन्ने चाहेको बताए।
भारतले राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि विरोधमा जनता सडकमा उत्रिएको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल र संघसंस्थालाई राष्ट्रियतामा एकजुट भएकोमा धन्यवाद समेत दिए। कात्तिक १६ गते भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि त्यसबारेमा नेपालमा भारतको तीव्र विरोध भइरहेको छ।