चट्याङसहितको वर्षा हुने सम्भावना, सतर्कता रहन आग्रह

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुनको न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीको शिरसम्मलाई जनाउँछ ।

उक्त न्यून चापीय रेखा भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी प्रणाली कम सक्रिय भएको उनको भनाई छ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको केही स्थानमा मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही पूर्वी तथा मध्य भू–भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट