बागमती सरकारले गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन ७० प्रतिशत बजेट दिने

प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर बजेट अभावमा बीचमै छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत बजेट दिने निर्णय गरेको छ।

मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि ७० प्रतिशत बजेट लगानी गर्ने निर्णय गरेको हो। रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ। जसको ७० प्रतिशत प्रदेश सरकारले दिने भएको हो।

बागमती प्रदेशले ७५ करोडको ७० प्रतिशत अर्थात करिब ५२ करोड रुपैयाँको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने भएपछि बाँकी रकम अब संघीय सरकारको अनुदान लिने तयारी भएको छ। अपुग रकम भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउनेछ।

पहिलो चरणमा खेल मैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाइँदैछ। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउँदै छ। धुर्मुस–सुन्तली फाउण्डेसनले दुई वर्षअघि निर्माणको काम छाडेपछि रंगशाला निर्माणको काम अलपत्र परेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट