बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर दुईको मृत्यु(भिडियोसहित)

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार

नुवाकोट । ककनी गाउँपालिकाको कोल्पु खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ ।

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं १ स्थित कोल्पु खोलामा डुबेर स्थानीय १३ वर्षीया बिनिता बलामी र सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको ज्यान गएको हो । खोलामा नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा परेर डुबेकी बिनितालाई बचाउन गएकी लक्ष्मीको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।

ज्यान गुमाएका बिनिता र लक्ष्मीको शवलाई बालुवा उत्खनन गर्ने ब्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन् । सोबार साँझ ५ बजेर ४५ मिनेटको उक्त घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । आक्रोशित स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

गाउँपालिका र वडा कार्यालयकै मिलेमतोमा बालुवा उत्खनन कार्य हुँदै आएको बुझिएको छ । घटना घटेको ठाउँमा स्थानीय मोहनकृष्ण श्रेष्ठले बालुवा उत्खनन गर्दै आएको स्थानीयले बताएका छन् । करिब ५०० घरधुरी रहेको गाउँको स्थानीयहरु नुहाउन खोलामा जाने भएकाले यस्ता मानवीय क्षति हुने खालको घटनाहरु घट्नु दुःखद रहेको भन्दै स्थानीयले तत्काल बालुवा उत्खनन बन्द गरिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट