वर्ल्डलिंकको अन्तर कलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

काठमाडौं, २३ असार । इन्टरनेट सर्भिस प्रोभाइडरको रुपमा विगत २३ वर्षदेखि लामो इतिहास बोकेको नेपालकै सबैभन्दा ठूलो इन्टरनेट एवम् नेटवर्क सर्भिस प्रोभाइडर वर्ल्डलिंक कम्युनिकेसनस् लि। प्रमुख आईटी कम्पनीका रुपमा परिचित छ । वर्ल्डलिंकलाई सुरुवाती समयदेखि हालको अग्रणी आईटी कम्पनीको रुपमा स्थापित गर्नको लागि सेल्स र मार्केटिङ रणनीतिको महत्वपूर्ण भूमिका रहेको छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको हो ।

प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका थिए । सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्घि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो । विद्यार्थीहरुले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरु मार्फत आफूमा प्रेरणा जागृत गराउने अवसर पाएका थिए । यति मात्र नभई विद्यार्थीहरुले विभिन्न विषय र क्षेत्रका विज्ञहरुबाट प्रतियोगिताका प्रत्येक शिर्षकमा सल्लाह र सुझाव हासिल गरेका थिए । साथै प्रत्येक टीमलाई प्रतियोगिता अवधि भर गाइड गर्नको लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको थियो ।

प्रतियोगीहरुले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दुरसञ्चार एवम् आइटी कम्पनीहरुको भ्रमण गरेका थिए । उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टको रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुखकार्य रहेको थियो । यस प्रतियोगितामार्फत विद्यार्थीहरुले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरुबाट रणनीतिहरु निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरेका थिए । प्रतियोगिता जुन १, २०१९ बाट सुरु भई ३७ दिनसम्म संचालन गरिएको थियो । सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयन गरी सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम आइतबार होटल हिमालयनमा सम्पन्न गरिएको थियो ।

प्रतियोगिताको विजेता एस इन्टरनेशनल बिजनेस स्कूल बन्यो। प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरु प्रस्तुत गरेबापत एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको हो । कलेजले प्रथम पुरस्कार स्वरुप रु.२ लाख ५० हजार नगद प्राप्त गरेको छ । त्यस्तैगरी, जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । उनीहरुले नगद रु.१ लाख र रु. ७५ हजारको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सम्मानित एवम् निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दिलिप अग्रवाल, बिन्दु नाथ लोहनी र प्रदीप राज पाण्डे रहेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट