रिपोर्टर नेपाल समाचार
चितवन, भदौ १४ । दुई वर्षअघि रोजगारीका लागि कुक हेल्परमा दुबई गएका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको दुबईमा रहस्यमय मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा दुबई गएका परशुराम र उनकी पत्निको दुबईमा मृत्यु भएको खबरले नेपालस्थित उनको परिवार शोकमा डुबेको छ । अचानक आफ्ना छोरा बुहारीको खबरले आमा मिसकुमारी सापकोटा अचेत अवस्थामा पुगेकी छन् । ३६ वर्षका छोरा परशुराम र बुहारीको निधन भएको खबर आउँदा सुरुमा आफूहरुलाई विश्वास नलागेको परशुरामका बुबा मोती सापकोटाले बताए ।
उनीहरुको कसैले हत्या गरेको वा आफ्नै विवादका कारण आत्महत्या गरेका हुन् यसबारे केही पत्ता लाग्न सकेको छैन् । उनीहरुको शव अझैसम्म दुबईमै राखिएको छ । गत शनिबार दुवै दम्पती आफ्नै कोठामा मृतावस्थामा फेला परेको आफूहरुले खबर पाएको बुबा मोतीले बताए ।
तीन वर्षअघि दुबईमा काम गर्न गएकी बुहारी कल्पनाले नै छोरा परशुरामलाई भिसाको व्यवस्था गरिदिएको बुबा मोतीले जानकारी दिए । दुबईमा बस्दै आएका दुवै जना आफ्नै कोठामा परशुराम झुण्डिएको अवस्थामा र कल्पनाको घाँटीमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको बताइएको छ ।