एजेन्सी
मुम्बई । फोक्सोको क्यान्सरबाट पीडित भएका बलिउड अभिनेता संजय दत्त उपचारका लागि अमेरिकातर्फ लागेका छन् ।
शनिबार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मुम्बईको लीलावती अस्पतालको इनटेन्सिभ केयरमा राखेर उपचार गरिएको थियो । अस्पताल भर्ना भएका संजयलाई मंगलबार फोक्सोमा क्यानसर भएको र क्यान्सरको तेस्रो चरण पुगेको रिपोर्ट आएको थियो ।
उनलाई क्यान्सर भएको खबर आउँदासम्म उनी उपचारका लागि अमेरिकाको लागि प्रस्थान गरिसकेका छन् । सञ्जयले सामाजिक सञ्जालमा आफूलाई स्वास्थ्य समस्याका कारण केही समय कामबाट आराम लिने र अनावश्यक समाचार नछाप्न आग्रह गरेका छन् । तर, क्यान्सरबारे भने उनले केही बोलेका छैनन् ।
उनले लेखेका थिए, ‘मित्रहरु, म चिकित्सा उपचारको लागि कामबाट छोटो बिश्राम लिइरहेको छु । मेरो परिवार र साथीहरु मसँग छन् । म आफ्ना सबै शुभचिन्तकहरुलाई चिन्ता नगर्न अनुरोध गर्दछु । अनावश्यक अनुमान पनि नगर्नुहोस् । तपाईको प्रेम र शुभकामनाको साथ, म छिट्टै फर्किनेछु ।’