रिपोर्टर नेपाल समाचार
काठमाडौं । गत चैत ११ गतेबाट गरिएको लकडाउनका कारण बन्द रहेको साझा यातायातले बिहीबारबाट सेवा सञ्चालन गर्ने भएको छ ।
चैत ११ गतेदेखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो। असार २६ गतेदेखि सार्वजनिक यात्रुबाहक बस र ट्याक्सी चलाउन दिने निर्णयअनुसार गत आइतबारदेखि चक्रपथ परिक्रमा गर्ने गरी विभिन्न कम्पनीका बस चल्न थालेका हुन्।
उक्त निर्णयअनुसार नै साझाका २६ वटा बसले साउन १ अर्थात भोलिदेखि ८ वटा रुटमा सेवा दिने भएको हो । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्ने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिनेछ ।
सरकारले तोकेका सबै मापदण्ड पालना गरेर यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर, बसभित्र यात्रुलाई भीड नगरी व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गरेको छ । साझाले यी बाहेक यात्रुको चाप हेरेर अन्य रुटहरुमा बस थप्दै लैजाने योजना बनाएको छ ।