पुरातत्वको डिजाइनअनुसार नै रानीपोखरी पुनर्निर्माण हुँदैछ : प्रमुख शाक्य

प्रकाशित मिति: १० पुष २०७४, सोमबार

काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनर्निर्माणको काम अघि बढेको बताएका छन् । शाक्यले पछिल्लो समय रानीपोखरी पुनर्निर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला यस्तो धारणा व्यक्त गरेका हुन् ।

पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेको हुनाले र सो योजना पहिलाकै भएकाले आफूले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनर्निर्माण गर्न निर्देशन दिएको प्रमुख शाक्यले जनाए ।

सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनर्निर्माणमा समस्या नल्याउन आग्रह गर्दै, उनले रानीपोखरी पुनर्निर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दा अघिकै भएको भन्दै सम्पदा नमासिने गरी जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए ।

रानीपोखरी पुनर्निर्माणका क्रममा कंक्रिट हालिएको भन्दै पुरातत्वविद्हरुले आपत्ति जनाएकोप्रति संकेत गर्दै उनले भने, ‘रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभई सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो ।’ उनले सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर सो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना रहेको जनाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट