रिपोर्टर नेपाल समाचार
पाँचथर, १० मंसिर । निर्वाचन चलिरहेको बेला पाँचथरको कुम्मायक ४ साविक रानीगाउँ ९ देवल भन्ने ठाउँमा घरेलु बम फेला परेको छ । निर्वाचनमा सहभागी हुन जाने क्रममा स्थानीयहरुले बाटोमा रेडबुलको खोलमा तार जोडेर तयार गरिएको वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
आइतबार दिउँसो साढे ३ बजेतिर फेला परेको सो वस्तु तुरुन्तै डिस्पोज गरिएको छ । घटनाबाट कुनै पनि मानविय क्षति नभएको स्थानीय कमल चम्लागाइले बताए ।
मतदान संचालन भइरहेको कुम्मायक ४ सिद्ध मावि तिङदेनको मतदान स्थलबट करिब एक किलोमिटर टाढा फेला परेको सो बम नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पड्काएर निष्कृय पारेको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।
यस अगाडि पनि पाँचथरका ३ स्थानमा बम फेला परेको थियो । बम कसले राखेको भनेर पुष्टि भने हुन नसके पनि चुनाव विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द(विप्लव) समूहले राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
पाँचथर प्रहरीले विप्लव समूहका मेची व्युरो इञ्चार्ज सुमन भनिने सन्तकुमार लिम्बु सहित १६ जनालाई पक्राउ गरेको छ ।