दक्ष कालिगढ पलायन हुँदा सिप हस्तान्तरणमा समस्या : आभुषण महासंघ

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएका कारण दोस्रो पुस्तामा सिप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासंघले बुधबार पत्रकार सम्मेलन गरी नेपाली मौलिक क्राफ्टम्यानसिप लोप हुँदै गएकाले सिप हस्तान्तरण हुन नसकेको जनाएको हो । रोजगारीका लागि नेपाली युवाहरु जोखिमपूर्ण कामका लागि न्यून श्रम मूल्यमा पलायन हुँदा स्वदेशी आभुषण निमार्ण क्षेत्रमा विदेशी कालिगढको बाहुल्यता रहेको महासंघको भनाइ छ ।

आभुषण क्षेत्रले नेपाली राजस्वमा वर्षेनी १२ अर्बभन्दा बढीको योगदान गर्दै आए पनि यस क्षेत्रलाई प्रोत्साहित गर्न कुनै क्षेत्रबाट पहल नभएको महासंघका अध्यक्ष किसान सुनारले बताए । राजस्वमा वर्षेनी अर्बो योगदान गर्दै आए पनि यस क्षेत्रमा उचित मापदण्डको अभावले बहुमूल्य गहनाको उत्पादन, कारोबार, नियमन, आयात, आपूर्ति व्यवस्थित हुन नसकेको भन्दै अध्यक्ष सुनारले सम्बधित निकायको ध्यानाकर्षण समेत गराए । उनले स्वदेशी रत्न पत्थर उत्खनन, प्रशोधन र निर्यातमा सरकारले निजि क्षेत्रसँग समन्वय एवं सहकार्य गर्नु आवश्यक भएको जिकिर गरे।

महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले नेपाली समाजमा गर-गहनाको महत्व सिगांरमा मात्र सिमित नभएको जिकिर गर्दै गहनाको सांस्कृतिक र पौराणिक महत्व समेत भएको बताए। कार्यक्रममा महासंघका द्वितिय उपाध्यक्ष सुधिर अग्रवाल, सचिव केशर बहादुर वि.क., कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, सह–कोषाध्यक्ष दिपक धनुके, सल्लाहकार डा. सोमनाथ सापकोटा लगायतको उपस्थित रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट