यस वर्षको बिस्केट जात्रा चैत २७ बाट सुरु हुने

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ। नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि सुरु हुने परम्परा रहेको छ।

नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रामा चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिंगो जात्रा मनाएर साँझ लिंगो ढाल्ने प्रचलन छ । जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरबको रथको आजबाट छाना राख्ने काम सुरु भएको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

चैत २६ गतेसम्म रथमा रङगरोगन एवं सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिइन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट