पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक, आजै सर्लाही लगिँदै

प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बुढानीलण्ठस्थित घरबाट पक्राउ परेका रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। आफूलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जनलाई बुधबार सीआईबीले सार्वजनिक गरेको हो ।

आफूलाई तपस्वी बताउने बम्जनमाथि बाल यौन दूराचार, हत्या र ठगी घटनाको आरोप छ। बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि उनीमाथि कारवाही हुन सकेको थिएन । पाँच वर्षपछि २०७६ माघमा जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दा उनी निरन्तर फरार थिए।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ। बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा अघि बढ्ने भएकाले उनलाई आजै त्यसतर्फ लगिने सीआईबीले जानकारी दिएको छ । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जहाजबाट जनकपुर हुँदै सर्लाही लैजाने भएको छ।

प्रहरीले बमजनका साथबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि बरामद गरेको छ । यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट