राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आइतबार सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावली प्रकाशन गरेको हो ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशीमा प्रदेशसभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता रहेका छन्। आयोगका अनुसार कोशी प्रदेशसभा सदस्यको मतभार ४९२९, पालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुख गरी ५२०६ मतभार र कोशीमा कुल १०,१३५ मतभार कायम हुनेछ ।

त्यस्तै मधेशमा प्रदेशसभा सदस्यको १०७, पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख २६७ गरी जम्मा ३७४ जना मतदाता रहेका छन् भने प्रदेशसभा सदस्यको मतभार ५६७१ र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको ५०७३ गरी जम्मा १०,७४४ मतभार कायम हुनेछ।

यस्तै बागमतीमा ११० जना प्रदेशसभा सदस्य, २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता रहेका छन् भने बागमतीमा प्रदेशसभा सदस्यको मतभार ५८३० र पालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०,३३३ मतभार कायम हुनेछ।

यता गण्डकीमा प्रदेशसभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। गण्डकीमा प्रदेशसभा सदस्यको मतभार ३१८० र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ।

लुम्बिनीमा प्रदेशसभा सदस्यको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता, प्रदेशसभा सदस्यको मतभार ४६११ र पालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ।

यस्तै कर्णालीमा प्रदेशसभा सदस्य ४०, पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख १५६ गरी जम्मा १९६ जना छन् भने प्रदेशसभाको मतभार २१२० र पालिकाको २९६४ गरी जम्मा मतभार ५०८४ हुनेछ।

सूदुरपश्चिममा प्रदेशसभा सदस्य ५२ तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम छन्। जसअनुसार प्रदेशसभा सदस्यको २७५६ र पालिकाका ३३४४ गरी जम्मा ६१०० मतभार कायम रहेको आयोगले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट