अत्यावश्यक काम बाहेक भोलि घरबाट ननिस्कन ट्राफिक प्रहरीको अनुरोध

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भोलि अर्थात मंसिर ७ गते विभिन्न समूहले विरोध प्रदर्शन गर्ने बुझिएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक कामका लागि मात्र सवारीसाधन लिएर घर बाहिर निस्कन अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले आज एक सूचना जारी गर्दै अत्यावश्यक काम नपरे सवारीसाधन लिएर घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको हो । भोलि व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान र एमाले निकटको युवा संघले काठमाडौंका दुई स्थान बल्खु र तीनकुनेमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्।

त्यसका लागि विभिन्न स्थानबाट जुलुस निस्किने जनाइएको छ। त्यसकारण ट्राफिक प्रहरी कार्यालयले सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको हो।

‘तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौँ’ सूचनामा भनिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट