दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा कार्यक्रम गर्न रोक

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

काठमाडौं । सरकारले पछिल्लो समय सार्वजनिक रुपमै एक अर्कालाई चुनौती दिँदै आएका एमाले नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न नदिने भएको छ ।

एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएकामा सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । दुवै पक्षले मंसिर ७ कै दिन कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा व्यवस्थाका लागि भन्दै माइतीघर मण्डलमा कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो।

सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको जिल्ला प्रशासन कार्यालयले छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न नदिने जनाएको छ । युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै मंसिर ७ गते माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्। यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने अनुमान प्रशासनले गरेको छ। ठाउँ जुधेका कारण दुवै पक्षलाई अन्तै कार्यक्रम गर्न प्रशासनले सुझाव दिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट