दशैँ लक्षित खसीबोका : सिङमा हरियो रङ हेरेर मात्रै खसीबोका किन्न कामपाको आग्रह

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँमा बिक्री हुने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। कामपाले विगतका वर्ष झैं यसवर्ष पनि काठमाडौंमा अस्वस्थकर खसीबोका बिक्री वितरण रोक्न यही असोज २३ गतेदेखि दशैँ लक्षित खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको हो ।

अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको कामपाले यसवर्ष घटस्थापना अगाडिबाट नै खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी गरेको छ।

अनुगमन समितिको संयोजकसमेत रहेकी उपमेयर सुनिता डङ्गोलको संयोजकत्वमा कामपा कृृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण गर्ने कामपा कृषि विभाग प्रमुख डा.अवधेश झाले जानकारी दिए।

डा. झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ। परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उनले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गरे।

कामपाले चौपाया बिक्री स्थान, मासु पसल र बधशालालगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित अन्य पाँच जना टोलीले परीक्षण गर्ने तयारी गरेको छ। दशैँका लागि मात्र कामपाले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वाथ्य र मासु निरीक्षण गर्ने गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट