टीका चाम्लिङ एकल सांगीतिक साँझ हुने

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

काठमाडौं। गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। गीति साहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौं उपत्यका उपसमितिको आयोजनामा काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा असोज १९ गते शुक्रबार दिउँसो गीतकार चाम्लिङको कविता तथा गीत वाचनका साथ एकल सांगीतिक साँझ ‘सै हँमा स्वर्णिम साँझ’ आयोजना हुने भएको हो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका चाम्लिङको यो पहिलो एकल सांगीतिक साँझ हो। प्राज्ञ चाम्लिङका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्य तथा वरिष्ठ संगीतकार प्राज्ञ अशोक लोहोरुङ राईको संयोजनमा प्रस्तुत हुने सांगीतिक साँझमा गायक गायिकाहरू राजेशपायल राई, सत्यकला राई, राई नीवन, सीडी विजय अधिकारी, मेलिना राई, अशोक मुकारुङ, रुपकुमार राई, सञ्जय तुम्रोक, सबु राई, सरिता राई आङबुहाङ, मनिशा अधिकारी राई, खुसी थुलुङ, शशिका राई सुनुवार, विनुसा राई, पूर्णिमा ठटाल, सविता चोङबाङले गीतकार चाम्लिङका चर्चित गीतहरू गाउने छन् ।

कार्यक्रमको आरम्भमा स्वागत गायन प्रस्तुत हुनेछ जसमा कला राई, विक्रम राई, मीना राई, प्रेमकला राई, केबि राई, सचिन राई, सागर संसार राई, दीपक बान्तावा, रश्मि राई, मनिता चाम्लिङ राई, निनामहाङ राई, हेमन चाम्लिङ राई र मनमा बिराईले स्वागत गान गाउने छन्।
यसैगरी कार्यक्रमको अर्को चरणमा नृत्य प्रस्तुति रहेको छ । नृत्य निर्देशक कमल राई र सुमित गुरुङको निर्देशनमा उपासना नेम्बाङ, चरना सिवाकोटी, विमला लिम्बू र स्वर्णिमा राईले गीतकार चाम्लिङकै गीतमा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

वि.संं. २०३० माघ ४ गतेका दिन खोटाङको साबिक नुनथला गाविस–५, हाल दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका वडा नं. १३, खाम्लामा आमा दिलकुमारी राई र आपा रोजबहादुर राईका ज्येष्ठ छोराका रूपमा यस धरतीमा जन्म लिएका उनी पूर्णकालीन कवि गीतकार र संस्कृतिकर्मी हुन् । विशेष गरी गीत, कविता र यात्रासंस्मरण विधामा कलम चलाउने उनका सधैँभरि (गीतिअडियो–२०५८), राखौँ सम्झना (लोकजुहारी शब्द सङ्कलन–२०५९), सोमबारे हाटैमा (लोक जुहारी शब्द सङ्कलन–२०५९) गीतिएल्बमका साथै सपनाको रङ (गीतिकाव्य कृति–२०६०), समयको रङ (गीतिकाव्य–२०६४), जूनको बस्ती (गीतिकाव्य–२०६८) र मुन्दुम र मालिङ्गो (गीतिकाव्य कृति–२०७१) प्रकाशित छन् । बागी कविता (कविताकाव्य कृति–२०८०) उनको कविता विधातर्फको पहिलो कृति हो ।

यसका अतिरिक्त उनका दुई सय जति गीत विभिन्न चर्चित गायक गायिकाका स्वरमा स्वराङ्कन भएका छन् र छायाङ्कनसमेत गरिएका छन् । शुक्रबार आयोजना हुने कार्यक्रममा प्राज्ञ चाम्लिङको काव्यकृति ‘बागी कविता’को समेत विमोचन गरिने कार्यक्रम रहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट