मेरो सम्झनामा ‘म अनि मेरो स्कुल जाल्पा मा.वि. नुन्थला’

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

मिति २०५२/५३ सालतिर ५ कक्षा पञ्चकन्या प्रा.वि रुभुङबाट पास गरेपछि सुरु भएको जाल्पा मा.वि नुन्थला स्कुलसँगको मेरो इतिहास आज करिब २६/२७ वर्ष भइसकेको  छ। कक्षा ५ मा पहिलो भएर छ कक्षा सुरु गर्दा मेरो आप्पा (बुवा) ले ‘अबदेखि हरेक दिन एक रुप्पे (रुपैयाँ) तँलाई खर्च दिन्छु’ भन्नुभएको अहिले जस्तै लाग्छ तर लामो समय भइसकेछ आप्पाको त्यो शब्दले मलाई यती खुशी बनाएको थियो कि हरेक दिन एक रुप्पे पाइन्छ भनेर मेरो खुट्टा भुईमा हुदैन थियो। कति समयपछि मैले रेगुलर एक रुप्पे पाइनँ, कारण मेरो आप्पा आमाको आयस्रोत भनेको कृषि थियो अनि १२ महिना दुःख गरेर काम गर्दा ६ महिना पनि खान नपुग्ने भूमि, अनि कहाँबाट ल्याउने हरेक दिन पैसा । तर, पनि मलाई गुनासो चै लागेको थिएन सायद मैले बिर्सेर पनि होला त्यो बेला। आज आएर अलि अलि बुझ्दैछु कि मेरो आप्पाले भन्नुभएको त्यो शब्दहरू त आप्पासङ्ग पैसा टन्न भएर हैन कि मलाई पढ्न हौसला दिनको लागि रहेछ।

हिजो अस्ति भर्खरै जस्तो लाग्छ कक्षा ६ मा लाज लाग्दै रन्जित राईको साथमा पहिलो पटक नुन्थला स्कुल सुरु गरेको। त्यो बेलामा पहिलाको भलिबल ग्राउन्डसङ्गै रहेको भवनमा कक्षा ६ पढाई हुने गर्थ्यो। मेरो सम्झनामा कम्तिमा पनि २०/२२ जना विद्यार्थी थिए होलान कक्षामा तर सबै नयाँ अनुहार। कता बस्ने के गर्ने म दोधारमा थिए अनि पछाडिको सिटमा बसेको याद छ। अनि पहिलो पटक मलाई बोलाउने साथी ठ्याक्कै चाहिँ बिर्सिए तर महुरेको तिलस थुलुङ्ग जस्तो लाग्छ। यसरी सुरु भएको नुन्थलाको पढाई २०५७/५८ सम्म पुग्दा प्राय नचिन्ने र नबोल्ने भन्ने कोहीसँग बाकी राखिएन। उधारो खाजा खाने भएकोले होला वरिपरि पसल, होटेल सबैले चिन्थे । त्यो बेलाको सबैभन्दा मिठो खाजा मायोज चाउचाउ, रमपम चाउचाउ अनि टेस्टी बिस्कुट र ग्लुकोज बिस्कुट लाग्थ्यो । पुईलुङ्ग्को पुर्ण दाइको पसल थियो, त्रिभुराज सरको घरमा अनि त्यही नै हाम्रो खाजा खाने जक्सन। त्यहाँ पकाएको चाउचाउको स्वाद कसम होला अहिले पनि जिब्रोको टुप्पोमा नै छ। बिस्कुटको डिलर चाहि चित्र तामाङ्ग, मित्र तामाङ्गको थियो ।

त्यो बेलामा हाम्रो भविष्य उज्ज्वल बनाउन शिक्षा साथै दीक्षा दिनुहुने नुन्थलाका हाम्रो गुरुहरू मोहन तामाङ, भगसेर राई, काजिमान तामाङ्ग, मकर राई, हेम राई, दिनेश साम्पाङ्ग, सन्तोष लावती, धन कुमार पाख्रिन, डोरनाथ सर, रुद्र राई, मणि राई, दिलिप साम्पाङ, रमेश चन्द्र राई, उदप राईलगायत अन्य कतिजनाको त नाम भुलेछु तराईबाट सर। उहाँहरू सबैले हाम्रा लागि ठूलो गुण लगाउनुभएको छ, उहाँहरू सबैलाई मेरो सम्मान अनि धन्यवाद छ। त्यो समयदेखि अहिलेसम्म पनि निरन्तर हाम्रा नानी बाबुहरूलाई शिक्षा दिईरहनु भएका आदरणीय गुरुहरू मकर चन्द्र राई, हेम राई, काजिमान तामाङ्ग अनि धनकुमार पाख्रिनप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

श्री जाल्पा मा.वि नुन्थला स्कुल प्रा.वि, नि.मा.वि हुँदै २०५६/५७ तिर मा.वि भएको जस्तो लाग्छ किनकी नुन्थला स्कुलबाट एस.एल.सी (अहिलेको एसईई) दिने हामी दोश्रो ब्याज थियौ २०५७ मा । त्यो बेलामा एस.एल.सी पास गर्नु ठूलो कुरा मानिन्थ्यो । एस.एल.सी पास गरेभने हुनेखानेले त खसी र सुँगुर काटेर भोज पनि खुवाउने चलन थियो। समय निकै बितेछ, यो लगभग दुई दशकको बीचमा धेरै परिवर्तन आएको रहेछ। हाम्रो पालामा लगभग ४/५ सय विद्यार्थी हुने गर्थे तर अहिले जम्मा डेढ दुई सय विद्यार्थी रहेछन्।

मकर सरसँग एकैछिन कुराकानी गर्ने अवसर मिलेको थियो। सरले भन्दै हुनुहुन्थ्यो ‘यहाँका धेरै बच्चाहरू दिक्तेल बोर्डिङ स्कुल पढ्न जान्छन्। बिहान बच्चा लिन गाडी आउँछ अनि बेलुकी पनि गाडीले पुर्याईदिन्छ, अहिले त बाटो राम्रो छ अनि सजिलो । अर्खौले तिरसम्म पनि बोर्डिङको गाडीले विद्यार्थी उठाउँछ। बच्चाहरू पनि गाडीमा चढेर स्कुल जान पाउँदा खुशी हुन्छन् अनि आमा बुबाहरू पनि आफ्ना बालबच्चाहरू बोर्डिङ स्कुल पढाउने कुरोमा गर्व गर्छन। हाम्रो स्कुलमा पनि बोर्डिङको किताबहरू राखेर पढाउँदा हामी पनि बोर्डिङको जस्तो शिक्षा दिन सक्छौ तर, सरकारी निकायले मान्दैन, अनुमति दिदैनन्। बोर्डिङका पाठ्यक्रम मात्रै नभएर किताबको बनावट पनि सुन्दर छ। बच्चालाई मनपर्ने रंगीचंगी कलरमा चित्रहरू सहित किताबहरू बनाएका हुन्छन् । सरकारी स्कुलमा त सादा कागजमा अनि बच्चालाई सिक्न पनि आकर्षक हुँदैन। सरकारी स्कुलले ४/५ वटा किताब पढाउनु पर्छ तर उता बोर्डिङमा ८/९ वटा किताब पढाउँछ। सिकाइका क्षेत्र नै फरक छ। हामी पनि बोर्डिङको जतिनै नभए पनि एक/दुई वटा किताब थपेर पढाऔं भनेको त्यसो गर्दा हाम्रो बच्चाहरू बोर्डिङसम्म जानुपर्ने अवस्था रहदैन तर सरकारी निकायले मान्दैन। तर, पनि यही वर्षबाट कुरा गरेर दुई वटा जति किताब थपेर पढाउने कुरो भएको छ। यसो गर्दा निम्न वर्गका अभिभावकहरूले पनि आफ्ना बालबच्चाको पढाई बोर्डिङको जस्तै नभए पनि केही भिन्नता भने पाउने छन्। अझै सबैसँग समन्वय गरेर यही नै १/२ जना शिक्षकलाई मन्टेश्वरी तालिम दिएर, पुस्तकहरू थप गरि पढाउने हो भने वरिपरिका बच्चाहरू बोर्डिङ जानु पर्ने थिएन सरले भन्दै हुनुहुन्थ्यो ।

विगतको २०/२१ वर्षको अवधिमा विकास सँग सँगै संरचनाहरू पनि परिवर्तन भएका रहेछन् । हामीले पढे लेखेको स्कुलको भवनहरू कुनै पनि रहेनछन्। हामीले खेलेको खेल मैदानमा स्कुलको पक्की भवन भएछ। ठूलो लाँकुरी कि सिसौको रूख थियो अहिले त नाम निसानै छैन रहेछ। माथिल्लो तिरको सबै भवन सबै तल्लो पट्टी सरेछ, जहाँ हामी घाम ताप्दै महुरेको बिबेक सम्पाङ्गको मीठो गफ सुन्ने गर्थ्यौं। मकर सरले किनिदिनु भएको बदाम र सुन्तला अनि नुन्थलाको मिलन राईले बनाएको काचो चाउचाउ कति मिठो अनि खिल्कु महुरेबाट पिप्ला दिदी, विमला दिदीहरूले ल्याएको भुटेको केराउ आहा… अहिले पनि बिर्सेको छैन मेरो जिब्रोले। सबै कुराहरू परिवर्तन भएछ तर, हाम्रा प्रिय गुरुहरू मकर सर, हेम सर, काजिमान सरसँग भेटने मौका मिल्यो उहाँहरूको हामी विद्यार्थी भए पनि मित्रवत भाव अनि प्रेम र बोलीचालीको सभ्यता कहिल्यै परिवर्तन नभएको देखेर सारै मन छोयो।

२०५८ सालमा एस.एल.सी दिएर आ-आफ्नो भविष्य बनाउन छुट्टिएको हाम्रो ब्याजका साथीहरू नवीन सपाङ्ग, डम्बर राई, मिलन राई, तिलस राई, युबराज साम्पङ्ग, इन्द्र बहादुर तामाङ्ग, दिपकला राई, लिला पाख्रिन, मित्रमाया तामाङ्ग, लाल कुमारी राई, तिल कुमारी बिक, सुभन राई, भुमिका राई, रन्जित राई अनि म इन्द्र बहादुर राईमध्ये लाल कुमारी राई र तिल कुमारी अनि भूमिका दिदीहरू बाहेक सबैसँग कहिले काही फेसबुकको भित्तामा भए पनि भेटघाट हुने गर्दछ। जे होस सबैलाई सम्झना छ, अनि हाम्रो स्कुल र सम्पूर्ण नयाँ तथा पुरानो गुरुहरूप्रति हार्दिक आभार।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट