बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल लागू नगर्न सरकारको निर्देशन

प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

काठमाडौं । शनिबार मध्यरातिदेखि लागू हुने गरी बढेको खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य तत्काल लागू नहुने भएको छ।

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि आइतबार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले चाँडपर्वको बेला मूल्यवृद्धि गर्दा जनता मारमा पर्ने भन्दै बढेको मूल्य तत्काल लागू नगर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार नै आयल निगमले सूचना जारी गरेर पुरानै मूल्य कायम गरेको छ । चाँडपर्वको बेला ग्यासलगायत पेट्रोल, डिजेलको मूल्यवृद्धि गर्दा सरकारको चौतर्फी आलोचना भएको थियो।

आयल निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ६ रुपैयाँ, खाना पकाउने ग्यासमा २१५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। प्रधानमन्त्री प्रचण्डले बढेको मूल्य लागू नगर्न निर्देशन दिएसँगै अब पेट्रोलियम पदार्थको मूल्य पूर्ववत (यसअघिकै) कायम हुने भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट