बडादशैँको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

काठमाडौं । आज बडादशैँको चौथो दिन, देशभरका देवी मन्दिरहरुमा आज शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजिने कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ ।

नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले नै उनको नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

दुर्गा पक्षसमेत भनिने बडादशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ ।

यस्तै उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट