आज महाअष्टमी, शक्तिपीठहरुमा दुर्गा भवानीलाई बली चढाइँदै

प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार

काठमाडौं । आज दशैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठहरुमा दुर्गा भवानीलाई बलीसहित पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । बडादशैँको आठौ दिन अर्थात महाअष्टमीमा देशभरका शक्तिपीठहरुमा दुर्गा भवानीलाई बली दिने गरिन्छ ।

हिन्दु धर्मग्रन्थहरु अनुसार आजकै दिन देवीले राक्षसहरुलाई मारेको हुनाले बली दिने चलन सुरु भएको हो । पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बली दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ । प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ बिथोल्ने उद्देश्यले भद्रकाली करोडौं योनी(शक्तिका साथ आजकै दिन प्रकट भएको विश्वास छ । भद्रकालीको १६ वटा पूजा सामग्रीका साथ पूजाआराधना गरिन्छ ।

काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुन्छ । त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बली दिई कालरात्री मनाउने गरिन्छ । आज काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बली दिने प्रचलन छ ।

यस्तै, दाङको अम्बेकेश्वरी, छिल्लीकोट ,सल्यानको खैराबाङ, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारा, काभ्रेको पलाञ्चोक भगवती, दोलखाको भिमेश्वरलगायतका शक्तिपीठहरुमा पूजा आराधना गरी बली चढाइने गरिन्छ । आजकै दिन किसानहरुले फलामे औजारको पूजा गर्छन् भने सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्ने गर्दछन् ।

बडादशैँको सातौ दिन, फूलपाती भित्र्याइँदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट