बडादशैँको सातौ दिन आज फूलपाती भित्र्याइँदै

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

काठमाडौं । बडादशैँको सातौं दिन आज घरघरमा परम्पराअनुसार फूलपाती भित्र्याइँदैछ । फूलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फूलपाती भित्र्याइँदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देवीलाई पूजा गरिन्छ ।

दुर्गा भवानीको प्रतिमा राखिएको दशैँ घरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइँन्छ । आज देशभरका शक्तिपीठहरूमा दुर्गामाताको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने जनविश्वस रहिआएको छ ।

काठमाडौंमा गुहेश्वरी, नक्साल भगवती, भद्रकालीलगायतका शक्तिपीठमा बिहानैदेखि भीड भक्तजनहरुको भीड लागेको छ भने काठमाडौं बाहिर काभ्रेपलाञ्चोक भगवती, पोखराको बिन्ध्यवासिनी, गोरखाको गोरखकाली र मनकामना, बाग्लुङको कालिका, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको कालीमन्दिर, ताप्लेजुङको पाथिभरा, दाङको अम्बिकेश्वरी, डोटीको शैलेश्वरी, मकवानपुरको चुरीयामाई र भुटनीदेवीलगायतका शक्तिपीठहरूमा पूजाअर्चना हुने गर्दछ ।

घटनास्थापनादेखि दशैँ सुरु हुने भए पनि दशैँको चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले परिवारजनबाट टाढा रहेकाहरु विजया दशमीको दिन मान्यजन तथा आफन्तसँग आशिर्वाद लिई टिका थाप्न घरतिर जाने गर्छन् । आज काठमाडौंको हनुमानढोकामा रहेको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याईन्छ भने नेपाली सेनाले सैनिकमञ्चमा फूलपातीको बढाइँ गर्ने गर्दछन् ।

फूलपातीको अवसरमा सरकारले गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म फूलपाती ल्याउने र हर्षबढाइँका साथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ब्यान्डबाजा, पञ्चेबाजा र नाचगानसहित दशैँ घरमा भित्र्याउने परम्परा छ ।

बडादशैँको छैठौं दिन, कात्यायनी देवीको पूजा गरिँदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट