बडादशैँको पाँचौ दिन आज स्कन्दमाताको पूजा गरिँदै

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

काठमाडौं । नवरात्रका नौ दिनसम्म दुर्गाका एकरएक स्वरूपको पूजा आराधना गर्ने परम्परा अनुसार आज देशभरका शक्तिपीठहरुमा दुर्गा भवानीको पाँचौ रुप मानिने स्कन्दमाताको पूजा आराधना गरिँदै छ ।

देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ ।

शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द थिए, जसले नै दैत्यपति तारकासुरको वध गरेका थिए । ७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुरपति तारकासुरको वध गरेका थिए र त्यसै समयदेखि सबै देवताहरूको सेनापति बने । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहन्छिन । आज देशभरका विभिन्न शक्तिपीठहरुमा श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।

नवरात्रभरी देशभरका शक्तिपीठमा दुर्गा भवानीको पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौंमा गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लागेको छ ।

घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैँ घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट