शिक्षा विधेयक सच्याएर मात्रै पास गछौं, आन्दोलन फिर्ता लिनुुस् : गगन थापा

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरुलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् ।

शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका महामन्त्री थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई आग्रह गरेका हुन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आन्दोलनरत शिक्षकहरुलाई ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं,’ भनी आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन कमजोरीलाई संसद्‍बाट सच्याउन सकिन्छ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ’, आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ।’

महासंघको नेतृत्वमा देशभरका शिक्षकहरुले संघीय राजधानी काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुनेगरी असोज ३ गतेदेखि माइतीघरमण्डलामा आन्दोलन चर्काएका छन् । शिक्षकहरु आन्दोलित भएपछि बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट