सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि (फोटोसहित)

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

काठमाडौं। संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टिमा गरिएको छ ।

गत मंगलबार बालुवाटारस्थित निवासमा हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीरलाई आज बिहान निजी निवासबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएको हो । नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

उनको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिँदा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गर्दै शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाए भने एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए।

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता तथा कार्याकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट