रहेनन् एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङ

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ।

मंगलबार राति करिब २ बजेतिर बालुवाटरस्थित निवासमा हृदयघात भएका नेम्वाङलाई महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्‍याउँदा चिकित्सकहरुले उनको निधन भइसकेको बताएका थिए । नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ।

७१ वर्षीय नेम्बाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै अन्त्येष्टि गरिने एमालेले जनाएको छ। दुई दिनसम्म पार्टी कर्यालयमै उनको पार्थिव शरीर राखिने एमालेले जनाएको छ।

नेम्वाङको निधन भएपछि अहिले शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु अस्पतालमा छन् ।

२००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङ गएको मंसिर ४ गते भएको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। नेम्वाङले इलाम क्याम्पसमा पढ्दादेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका थिए। अनेरास्ववियुमा आबद्ध भएर २०२९ सालदेखि उनी कम्युनिस्ट राजनीति सुरु गरेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट