देशभर कृष्ण जन्माष्टमी मनाईंदै

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

काठमाडौं । आज भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर कृष्ण जन्माष्टमी मनाईंदै छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्ण जन्माष्टमी मनाउने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्ने श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा मामा कंशलगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कृष्णले पापका पर्याय बनेका कंशको वध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका धार्मिक ग्रन्थमा उल्लेख छ ।

कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन मानिसहरु व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन्। आजको रातलाई मोहरात्री पनि भन्ने गरिन्छ ।

अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट