जनैपूर्णिमा र गाईजात्रा मनाउनेबारे विवाद गर्दै स्थानीय तह

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय गरेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ। श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व यस वर्ष तिथिको घटबढका कारण एकैदिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए। ‘गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ। भदौ १४ गते बिहान पूर्णिमा तिथि छ’, उनले भने, ‘सोही दिनको बिहान ७ः४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो।’

तर, यता भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात सापारु पर्व मनाउने निर्णय गरेको छ। नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी र तान्त्रिकहरुको निर्णयका आधारमा यस्तो निर्णय गरिएको जानकारी दिए।

यस्तै ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन्। पाटन क्षेत्रमा विशेषगरी क्वा बहाः अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्वसम्बन्धी निर्णय गर्ने गरेको छ।

यो निर्णय पनि शास्त्रसम्मत् नभएको समितिका सदस्य भट्टराईले बताए। भदौ १३ गते भद्रा परेकाले यस दिन पुण्य कर्म गर्नु नहुने उनको भनाई छ। काठमाडौंका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट