त्रिशूलीमा बस खस्यो, ८ जनाको मृत्यु, अन्य घाइते

प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा बसमा सवार ८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर काठमाडौंबाट पोखरा हुँदै बेनी बागलुङतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी-२ चालिसेबाट त्रिशुली नदीमा खसेको हो ।

२५ देखि ३० जनासम्म सवार रहेको अनुमान गरिएको उक्त बसका ८ जनाको मृत्यु भइसकेको र अन्य यात्री घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेकामध्ये मृतक ८ जनाको सनाखत हुन बाँकी छ भने घाइते भएका १७ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

बस नदीमा डुबेकाले कतिपयलाई बाढीले बगाएको पनि हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट