आज नाग पञ्चमी, यसकारण गरिन्छ नागको पूजा

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

काठमाडौं । आज घरको मूलढोकामा नागको फोटा, तस्बिर टाँसेर नाग पञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमी यो वर्ष अधिकमासका कारणले सौरमासअनुसार भदौमा परेको हो ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको जनविश्वास छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । आजका दिन नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

आजका दिन घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । आज देशभरका शिवालयहरु, नागदह, कुण्ड, र नाग स्थानमा नाग पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ भने काठमाडौंको नक्सालस्थित नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायतमा पनि नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट