कक्षा १२ को नतिजा आज साँझ आउने

प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

काठमाडौं । यस वर्षको कक्षा १२ परीक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारीअनुसार गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिएको हो ।

बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी आज साँझसम्ममा नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिएको हो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए। बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । एसएमएसबाट नतिजा हेर्न का लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाउनु पर्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट