रिटर्नी माइग्रेन्ट नेपालको छैठौं स्थापना दिवस भब्यताका साथ सम्पन्न (भिडियोसहित)

प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

काठमाडौं । रिटर्नी माइग्रेन्ट नेपालले आफ्नो छैठौं स्थापना दिवस भब्यताका साथ मनाएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी रिटर्नी माइग्रेन्टले आफ्नो छैठौं स्थापना दिवस मनाएको हो । वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गरेका थिए ।

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्याल, कांग्रेसका सांसद रामहरि खतिवडा, राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्याक्ष सुरेन्द्र बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माधव ढुंगेल, सामाजिक अभियान्ता प्राध्यापक डा. सुरेन्द्र केसी, युवा अभियान्ता हिमाल शर्मा, पूर्व राजदुत रमेश प्रसाद खनाल, मुकुन्द मनी खनाललगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

छैठौं स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका मन्त्री भण्डारीले विदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुँजीलाई राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिँदै राष्ट्र निर्माणको महाअभियानमा रिटर्नीहरुको साथ आवश्यक पर्ने जिकिर गरेका थिए ।

रिटर्नी माइग्रेन्ट नेपाल २०७५ सालमा स्थापना भएको जानकारी दिँदै संस्थाका अध्यक्ष आचार्यले वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको र आज छैठौं स्थापना दिवस मनाउन पाउनु गर्वको कुरा भएको बताए।

कार्यक्रममा रिटर्नी फेडेरेसनका अध्यक्ष उत्तम अधिकारी, रिटर्नी सेन्टर नेपालका महासचिव भीम लकान्त्री, रिटर्नी माइग्रेन्ट नेपालका उपाध्यक्ष ऋषि बस्याललगायतले शुभकामना मन्तव्य राखेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट