जनप्रतिनिधिको साथमा हामी

म समृद्ध बुढानीलकण्ठ बनाउन चाहन्छु : नगर प्रमुख मिठाराम अधिकारी (भिडियोसहित)

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

बुढानीलकण्ठ भगवानको नामबाट नामाकरण गरिएको बुढानीलकण्ठ नगरपालिका बागमति प्रदेशको काठमाडौं जिल्लाको पूर्वउत्तर क्षेत्रमा रहेको नगरपालिका हो । वि.सं २०७१ साल मंसिरमा घोषणा गरिएको बुढानीलकण्ठ नगरपालिका संघिय राजधानी काठमाडौंसँगै जोडिएको एउटा नगरपालिका हो । साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलेर बनेको यो नगरपालिका हाल १३ वटा वडाहरुमा विभक्त छ । गत स्थानीय तहको निर्वाचमा बुढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी विजयी भएका थिए । नगर प्रमुख मिठाराम अधिकारीसँग बुढानीलकण्ठ नगरपालिकाको विकास निर्माणका कार्यहरु र भावी योजनाहरुबारे रिपोर्टर नेपाल डटकमकी रेनु कार्कीले गरेको कुराकानीको संपादित अंश प्रस्तुत गरिएको छ ।

१. बुढानीलकण्ठ नगरपालिकाको बारेमा जानकारी गराईदिनुस् न ?

: बुढानीलकण्ठ नगरपालिका एउटा ऐतिहासिक र पुरातात्विक नाम हो । बुढानीलकण्ठ मन्दिरको नामबाट नै यो नगरपालिकाको नाम रहन गएको हो । यसको पूर्वतिर गोकर्रेश्वर नगरपालिका, पश्चिमतिर टोखा नगरपालिका र दक्षिणतिर महानगरपालिकाको ३ र ४, ६ र ७ को सिमानाभित्र पर्दछ । धेरै ठूलो नगरपालिकाको रुपमा चिनिने यो नगरपालिकामा ७७ वटै जिल्लाका नागरिकहरु बसोबास गर्दछन् । यो क्षेत्र हामी सबैका लागि एउटा गर्वको क्षेत्र पनि हो, किनभने यहाँ पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि लिएर ठूला बुद्धिजीविहरुको पनि बसोबासस्थल भएकाले यो हाम्रा लागि गौरवको नगरपालिका हो ।

२. तपाई निर्वाचित भएर आउनु अगाडि बुढानीलकण्ठ नगरपालिकाको अवस्था कस्तो थियो ?

: म निर्वाचित भएर आउँदा नगरपालिकाको अवस्था राम्रै थियो । तर, हामीहरुले अलिकति सोचे जतिका कामहरु भने अझै गर्न पाएका छैनौं । यहाँहरुको जनताहरुको माग खानेपानी हो । आफ्नै पानीको श्रोत हुँदा पनि हामीले यो साउन महिनामा समेत खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउन सकेका छैनौं । हामीले यस विषयमा खानेपानी संस्थानसँग बुझ्दा वहाँहरुले कहिले कतै जाम भयो, कहिले कतै बिग्रियो भन्ने कुरा गर्नुहुन्छ । यस्तै बुढानीलकण्ठ मन्दिरको विषयमा पनि हामीले अस्ति कार्यपालिकाको बैठकबाट कार्यविधि अनि नियमहरु पास गरेका छौं त्यो पनि हामी बनाउदै छौं । अनि अर्काे आयो सार्वजनिक जग्गाको विषयमा पनि हामीले समिति बनाउने निर्णयहरु गरिसकेका छौं । त्यसको ऐन कानुनहरु पनि बन्दै छ । अब यि कामहरु गर्न पाइयो, त्यसको उपभोक्ताहरु बनाउन पाइयो भने यो बुढानीलकण्ठ नगरपालिका अझै सुदृढ हुन्छ भन्ने मैले आशा पनि गरेको छुँ ।

३. तपाई निर्वाचित भएर आइसकेपछि के कस्ता विकास निर्माणका कामहरु सम्पन्न भए त ?

: विकास निर्माणका निकै कामहरु भएका छन् । त्यसमा पनि भौतिक पूर्वाधारका कामहरु अनि शिक्षा र स्वास्थ्यमा केहि सुधारका कामहरु भएका छन् । यसमा पनि हाम्रो पहिलो प्राथमिकता शिक्षा हो । पहिला हामी शिक्षामा सुधार गर्छौं। शिक्षालाई सुधार गर्नु भनेको नगरपालिकालाई सक्षम बनाउनु हो । बुढानीलकण्ठलाई कसरी शिक्षाको हब बनाउन सकिन्छ भन्ने विषयमा हामी विभिन्न छलफलहरु गरि राखेका छौं । समृद्ध बुढानीलकण्ठ बनाउनका लागि हामी लागि परेका छौं ।

४. काम गर्दै जाँदा के कस्ता समस्याहरुको सामना गर्नुभयो ?

: समस्याहरु त सामान्य रुपमाआई नै हाल्छ, तर त्यो जनप्रतिनिधिमा भर पर्ने कुरा हो । जनप्रतिनिधिले आफ्ना नागरिकहरुलाई कन्भिन्स गर्न सक्छ वा सक्दैन भन्ने कुरा जनप्रतिनिधिमा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई । मैले अहिलेसम्म त्यस्तो ठूलो समस्या चाहि भोग्नु परेको छैन ।

५. बुढानीलकण्ठ नगरपालिकालाई कुन रुपमा चिनाउन चाहनुहुन्छ ?

: म समृद्ध बुढानीलकण्ठ बनाउन चाहन्छु । यो ऐतिहासिक नाम पनि हो । नगरपालिकाको नाम बिग्रिने बित्तिकै बुढानीलकण्ठ भगवानको पनि नाम बिग्रिने हुनाले हामी यो सबै कुराहरु सोचेर काम गरिराखेका छौं ।

६. बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १०, ११ र १२ स्थित चखुन्चा खोलालाई कसरी व्यवस्थित गरेर आवागमनका लागि सहज गराउनु हुन्छ ?

: हिजोका दिनमा यो नगरपालिकामा न्यून बस्ती थियो । माथि डाँडामा घरहरु थिए भने तल कृषियोग्य जमिनहरु थिए । तर, अहिले बढ्दो शहरीकरणका कारण यहाँको बस्ती निकै बाक्लो भइसकेको छ । कृषियोग्य जमिनहरु सकिएर अहिले सबै घरमा परिणत भइसकेका छन् । कपन डुबान क्षेत्र भनी यहाँहरु सबैलाई पनि थाहा नै छ । गत वर्ष र यो वर्ष कम डुबान भएको हो । जुन चखुन्चा खोलाको अन्तिम  धोबीखोलासम्मको जोडिएको ठाउँ छ त्यहाँ ढललाई बन्द गरिएको थियो जसका कारणले सानो पानी पर्दा पनि जाम भएर मानिसका घरभित्र पस्थ्यो, त्यसलाई व्यवस्थित गर्न अहिले हामीले त्यसलाई निकालेका छौं । अहिले पूरै सहज अवस्था नभए पनि पानी आउँदा आत्तिहाल्नु पर्ने अवस्था भने छैन । चखुन्चा खोलाको विषयमा भन्नुपर्दा अहिले ३ चरणको कामहरु भइराखेको छ । एक चरणको काम टेलिकमसँग आएर रोकिएको छ, बर्खाका कारण त्यसलाई अगाडि बढाउन सकिएन । त्यसैगरी धोबीखोलादेखि ५०० मिटरको अर्काे २८ करोडको योजनाहरुको टेण्डर भएर काम सुरु भइसकेको छ भने त्यसभन्दा माथि अर्काे ३६ करोडको टेण्डरको कामहरु पनि सुरु भएको छ । जुन टेण्डरको कामहरु आगामी हिउँद मसान्तसम्म सक्काउनु पर्छ भनेर हामी लागी परेका छौं । अब टेण्डर बिट गर्ने साथीहरुले हामीलाई कसरी सहयोग गर्नुहुन्छ त्यो हेर्न बाँकी नै छ ।

७. भावी योजनाहरु के के छन् ?

: हामीले ४, ५ वटा गौरवका योजनाहरु तय गरेका छौं । ती कामहरु गर्न सकियो भने बुढानीलकण्ठलाई अलिकति समृद्ध बनाउन सहज हुन्थ्यो भनेर हामी सबै लागी परेका छौं । र अर्काे कुरा यो भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अहिले जटिलरुपमा देखापरेको फोहरमैलाको समस्याहरु छन् । यो फोहरमैलालाई कसरी व्यवस्थित गरेर लाने भन्ने विषयमा अहिले बारम्बार संघिय सरकारसँग छलफल भइराखेको छ । त्यसैले यि सबै समस्याहरु समाधान गर्नुपर्छ भनेर म मात्र होइन बुढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि साथीहरु लागी राख्नु भाको छ ।

८. अन्त्यमा बुढानीलकण्ठका नगरबासीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

: सर्वप्रथम त म सबैलाई नमस्कार गर्न चाहन्छु । मलाई चुनावमा जिताउनु हुने सम्पूर्णलाई धन्यवाद छ । मेरा सबै बुढानीलकण्ठबासीलाई मैले भगवानको रुपमा लिएको छुँ र मैले वहाँरुको सेवाका लागि निरन्तर खटिने जानकारी दिन चाहन्छु । हामी बुढानीलकण्ठलाई समृद्ध र यहाँका नागरिकलाई सुखी बनाउन चाहन्छौं । यहाँका नागरिकहरु सक्षम हुनुहुन्छ, राम्रो हुनुहुन्छ । सबैभन्दा ठूलो नागरिक नै भगवान हुन् त्यसैले म सम्पूर्ण नगरबासीलाई दुई हात जोडेर नमस्कार गर्दै धन्यवाद भन्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट