सरकारले दिएको विभूषण लिलामी गरे रद्द हुन्छ : गृह मन्त्रालय

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाउन भन्दै आफूले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु लिलामी गर्ने घोषणा गरेका महावीर पुनलाई सरकारले विभूषण लिलामी नगर्न सचेत गराएको छ।

मंगलबार गृह मन्त्रालयले पुनको नाममा पत्र लेख्दै सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने भनी सचेत गराएको हो । कानुन बमोजिम कुनै विभूषण रद्ध भएमा विभूषण पाउने व्यक्तिको नाम र रद्ध गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीका लागि सूचना जारी गर्ने व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ । यहाँजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यसप्रकारको कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त छ,’ पत्रमा भनिएको छ।

मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट महावीर पुनले विभूषण लिलामी गर्न लागेकोबारे जानकारी पाएको उल्लेख छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिबद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट