रिटर्नी फेडेरेसन बागमति प्रदेशले चलचित्र ‘महानगर’को विषेश प्रदर्शनी गर्ने (भिडियोसहित)

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

काठमाडौं । विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको संघर्ष र यथार्थ चित्रण गर्ने चलचित्र ‘महानगर’को विषेश प्रदर्शनी गरिने भएको छ। मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ रिटर्नी फेडेरेसन बागमति प्रदेशको सहयोगार्थ यही साउन २७ गते चावाहिलस्थित चलचित्र विकास बोर्डको हलमा प्रदर्शनी गरिने भएको हो ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘महानगर’मा विभिन्न सपना बोकेर काठमाडौं भित्रिने युवापुस्ताको संघर्षलाई देखाउन खोजिएको छ । प्रविधिको विकाससँगै मानिस मानिसबीच बढ्दै गएको दूरी, एकअर्काप्रतिको व्यवहार, स्वार्थ, मायाप्रेम, आत्मीयपना हराउँदै गएको विषयवस्तुलाई चलचित्रमा चित्रण गरिएको छ ।

विभिन्न चुनौती र संघर्षपछि प्राप्त गरेको सफलताले झल्काउने खुशीलाई चलचित्र ‘महानगर’मा देखाइएको छ । मिडल–वे फिल्म्सले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ भने कार्म र मेनुकासँगै अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायतका कलाकारको पनि अभिनय रहेको छ।

‘महानगर’ भित्रिएका दुई अपरिचित व्यक्तिको एक साँझ हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर चलचित्र निर्माण गरिएको चलचित्रका लेखक तथा निर्देशक मोहन राई बताउँछन् । विभिन्न चुनौतीहरुको सामना गर्दै चलचित्र निर्माण सकेको अनुभव सुनाउँदै निर्देशक राई भन्छन्, ‘महानगर’ आशाको चलचित्र हो, हामीले चलचित्रमार्फत प्रविधिको विकाससँगै मानिस मानिसबीच बढ्दै गएको दूरीलाई देखाएका छौं । चलचित्र छायांकनका क्रममा आफूहरुले भोग्नु परेको अनुभव सुनाउँदै निर्देशक राई भन्नुहुन्छ,

यस्तै चलचित्र ‘महानगर’की निर्मात्री ओम चेम्जोंग सम्पूर्ण दर्शकहरुलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गर्दछिन् । आफूहरुले निर्माण गरेको ‘महानगर’ उत्कृष्ट चलचित्र बनेको उनको दाबी छ ।

चलचित्रका कार्यकारी निर्देशक गोविन्द पराजुलीले चलचित्र ‘महानगर’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशन गरी चारवटा विधामा अवार्ड प्राप्त गरेको बताउँछन् । चलचित्रले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई चलचित्रमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट