खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान

प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन इटली प्रस्थान गरेका छन् ।

इटलीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीले उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल पनि इटली गएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट