मर्निङवाक जाने महिलाको सुनको सिक्री लुट्ने ५ जना पक्राउ

प्रकाशित मिति: २४ असार २०८०, आईतवार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रृंखलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका ५ सदस्यहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकल प्रयोग गरेर मर्निङवाक जाने काठमाडौंका महिलाहरुको सिक्री लुट्ने गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।मर्निङवाक हिँडेका आठ जना महिलाले सिक्री लुटिएकोबारे प्रहरीमा गरेको उजुरीका आधारमा महाशाखाले उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रविन दमाइँ, सुनसरीको धरान घर भई चावाहिलमा बस्दै आएका रवि विश्वकर्मा, काभ्रे घर भई बानेश्वरमा बस्दै आएका उमेश क्षेत्री, धनकुटा घर भई बत्तीसपुतलीमा बस्दै आएका राहुल माझी र भारत घर भई न्युरोडमा बस्दै आएका श्रीकान्ता माइती रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट ११.२ ग्राम सुनको ढिक्का, सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ४७ ग्रामको नेक्लेस र ६ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। ५ जनाको गिरोह रहेको उक्त समूहले पक्राउ परेकामध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरीको मोटरसाइकल प्रयोग गर्ने र अरू व्यक्तिहरूले सुनको सिक्री तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट