नाबालिग बलात्कार मुद्दामा जोडिएका एलओडीका सञ्चालकलाई खोज्दै प्रहरी

प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

काठमाडौं । नाबालिग बलात्कारको मुद्दामा जोडिएका एलओडी क्लबका सञ्चालक फरार भएका छन्। ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल करिब एक सातादेखि फरार भएको प्रहरीले जनाएको छ।

गत जेठ ३० गते एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई जेठ ३१ गते ललितपुरको बागडोलमा बलात्कार गरिएको थियो । पीडितले घटनाको भोलिपल्टै पोखरा घर भइ हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन्।

अहिले कोइरालालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा कोइरालाले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । ‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन’, कोइरालाको बयान छ ।

कोइरालाको यो बयानपछि नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक श्रेष्ठ र सुवालमाथि अनुसन्धान थालेको हो । क्लबमा नाबालिग युवती प्रवेश गराएको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी गरिएको छ । फरार रहेका उनीहरुको ललितपुर प्रहरी परिसरले खोजी गरिरहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट