नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ३१ गते आदेश आउने

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे जेठ ३१ गते आदेश हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आइतबार दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिएको हो ।

न्यायाधीश न्यौपानेले थुनछेक बहस गर्नुअघि भएको छलफलमा समय छुट्याउने समझदारी गरेका हुन्। जसअनुसार सरकारी वकिलहरूले आइतबार, सोमबार र मंगलबारसम्म बहस गर्ने छन् भने अर्को मंगलबारसम्म प्रतिवादीका पक्षका वकिलहरूले बहस गर्ने छन् । दुवै पक्षको बहस सकेपछि भने बुधबार सरकारी वकिलले जवाफी बहस गर्ने र त्यसपछि इजलासले प्रतिवादीहरूलाई पुर्पक्षको लागि पठाउने/नपठाउने निर्णय गर्नेछ।

थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो। उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट