नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पूर्जी जारी

प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। यसअघि यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन्।

यो प्रकरणमा इन्द्रजितका छोरा निरज राई र रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसेकको छ। गिरोहका सदस्यले टोपबहादुरका छोरा सन्दीपका नाममा काटेको डेढ करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा थालिएको अनुसन्धानमा यसअघि केशवप्रसाद दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरिएको थियो। बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट