आमालाई सम्झिएर मातातीर्थ औंसी मनाइँदै

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

काठमाडौं । आज मातातीर्थ ‍औंसी, प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदाता आमालाई सम्झिएर मातातीर्थ औंसी मनाइने गरिन्छ ।

शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने गर्दछन् ।

आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।

आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूलप्रसाद चढाउँछन् । मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट