क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न (फोटो/भिडियो)

प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायीले मञ्चले एक भब्य कार्यक्रमका बीच आफ्नो वार्षिक क्यालेण्डरको विमोचनका साथै नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ ।

सुनचाँदी क्षेत्रका व्यवसायी, मञ्चका विभिन्न पदाधिकारी साथै नेपाल रत्न तथा आभूषण महासंघका प्रतिनीधिहरुका बीच उक्त कार्यक्रम शंखमूलस्थित एवान पार्टी प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै नेपाल सरकारले सुनचाँदी क्षेत्रमा लागू गरेको कोटा प्रणाली गलत भएको बताए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि महासंघका द्वितिय उपाध्यक्ष द्वारिका शंकरले सुनचाँदी व्यवसाय क्षेत्र अझ पनि व्यवस्थित एवम् मर्यादित हुन नसकेकाले यस क्षेत्रको व्यवसायमा एकरुपता आउन जरुरी रहेको र आगामी दिनमा महासंघले यसका लागि पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गणेश प्रसाद लकान्द्रीले महासंघमा आबद्ध विभिन्न संघ-संस्थाहरुलाई समान रुपमा महासंघको तर्फबाट व्यवहार नगरेको र कच्चा पदार्थ सुनको वितरण प्रणाली पारदर्शी एवम् असमान रहेको गुनासो गरे ।

मञ्चका वरिष्ठ उपाध्यक्ष खेम तिरुवाले शुभकामना मन्तब्य राख्दै चाँडै नै यस क्षेत्रको व्यवसायलाई एकरुपता प्रदान गर्नका लागि महासंघको तर्फबाट नीति तथा निर्देशिका जारी गर्न लागिएको बताए । मञचका उपाध्यक्ष भूपेन्द्र राईले यस्ता कार्यक्रमहरुले मञ्चका सदस्यहरुबीच आपसी सद्भाव र मित्रता बढाउने हुँदा बेला बेलामा यस्ता कार्यक्रमहरु संचालन गरिने जानकारी दिए । उनले यस क्षेत्रका व्यवसायीहरुलाई सरकारले सम्मानपूर्वक नहेरिएको गुनासो समेत गरे ।

मञ्चका महासचिव हेम राईले संचालन गरेको कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष डम्बर बराईलीले सभापतिको आसनबाट बोल्दै मञ्च सदैव व्यवसायीहरुको हक हितका लागि साथमा रहेको साथै अन्य सामाजिक क्षेत्रहरुमा पनि मञ्चले उत्तिकै भूमिका खेल्ने बताए । कार्यक्रममा नयाँ वर्षको क्यालेण्डर वितरण गरिनुका साथै अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । (फोटो/भिडियो : रेनु कार्की)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट