लाइसेन्सको ट्रायलमा ७० प्रतिशत लागू भएसँगै पास हुने २० प्रतिशत बढे

प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम कार्यान्वयनमा ल्याएसँगै चालक अनुमतिपत्र पाउन पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।

यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरेसँगै उक्त संख्यामा वृद्धि भएको हो ।

एकान्तकुनास्थित यातायात कार्यालयका अनुसार नयाँ नियम लागू भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशत र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ । विगतमा शत प्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ।

हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ। प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट