कार्यकर्तालाई ओलीको निर्देशन ‘गठबन्धन तोडिने अवस्थामा तयार रहनु’

प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आउने उतारचढावले परिस्थिति फेरिन सक्ने भएकाले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले विगतको पाँचदलीय गठबन्धन तोडिएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि कथमकदाचित अहिलेको गठबन्धन टुटे पनि आफूहरु हर परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका हुन् ।

महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘राजनीति सोझो रेखाबाट जाँदैन। उतार चढाव फेरि पनि आउन सक्छ। पाँच दलीय गठबन्धन टुटेकोमा कार्यकर्ताहरु काफी प्रसन्न भएको देखेको छु। गठबन्धन फुटाउनु सफलता हो। तर कथमकदाचित यो स्थिति फेरियो भने।’

उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरे । “यो देशको पाले नेकपा एमाले हो । त्यसैले एमालेलाई जुनसुकै बेलामा पनि आक्रमण हुनसक्छ,” उनले भने, “तर, एक छिन पराजित गरे पनि उनीहरूले नेकपा एमालेलाई कमजोर पार्न सक्ने छैनन् ।”

अहिलेकै गठबन्धनलाई टिकाएर जान ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छलफलमा छन्। त्यसैतर्फ संकेत गर्दै ओलीले एमाले फेरि प्रतिपक्षमा धकेलिन सक्ने संकेत कार्यकता माझ गरेका हुन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट