चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने

प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगले आज स्वीकृत गरेको उपनिर्वाचनसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता, चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, चैत २३ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य हुनेछ।

यसअघि गत ४ मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा रविले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि उनले सांसद पद गुमाएका थिए। सोही व्यवस्थाअनुसार निर्वाचन आयोगले चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

‘नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो’ आयोगले आइतबार विज्ञप्ति जारी गरी भनेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट