सरकारले विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले विशिष्ट व्यक्तिहरुको सवारी सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडक खाली गराइएको बेला निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेको थियो । भीभीआईपी सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत नदिएर दुःख दिने गरिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न तयार भएको हो ।

प्रहरीले ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गरेपछि नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने गरी आन्दोलन गरेको थियो । आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो । आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा चिकित्सकहरुसँग भएको ६ बुँदे सहमतिअनुसार सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७, परिमार्जन गर्ने भएको हो।

६ बुँदे सहमतिअनुसार चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकारलाई सुझाव दिने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने उल्लेख छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट